जुम्लामा अविरल बर्षा हुदा विमानस्थलमा यात्रुहरु अलपत्र
जुम्ला, १९ असार । अविरल वर्षासँगै हवाई जहाजको कमीका कारण जुम्ला विमानस्थलमा २ सय भन्दा बढी यात्रु अलपत्र भएका छन् । कतिपय हवाई जहाज कम्पनीले बढी भाडा लिएको यात्रुहरुको गुनासो छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले विमान कम्पनीले विमान चार्टरका लागि आफ्नै अधिकार प्रयोग गर्न सक्ने र त्यसमा प्रशासनले कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।
कर्णाली राजमार्गको विभिन्न खण्डमा गएको पहिरोका कारण स्थल मार्गबाट सवारी साधन सञ्चालन हुन नसकेपछि सुर्खेत नेपालगञ्ज झर्नेको भिड लागेको र मौसम सफा नभएकाले जहाज नआउँदा पनि यस्तो अवस्था सृजना भएको जुम्ला नागरिक उड्डयन कार्यालयका निमित्त प्रमुख रुपचन्द्र केसीले बताउनुभयो ।
मुगु र डोल्पा जिल्लाका विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने सिलसिलामा विमानस्थल बन्द गरिएकाले ती जिल्लाका कतिपय यात्रु पनि जुम्लामा आएका छन् । यात्रुको घुँइचो बढ्दै जान थालेपछि जुम्लाबाट नेपालगञ्जका लागि प्रतिव्यक्ति चार हजार ३ सय भाडादर रहे पनि यात्रुले प्रतिटिकटको १५ हजारसम्म तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् ।
अहिले जुम्लामा सीता, तारा, गोमा, मकालुलगायतका हवाई सेवा सञ्चालनमा रहेको उड्डयन कार्यालय जुम्लाले जनाएको छ ।
Category: News
0 comments