निवेदन दिने कलेजका प्राचार्य भन्छन्- 'बेइज्जती गर्ने काम
काठमाडौं- नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीको टोलीले पक्राउ परेका नेपालीहेडलाइन्स डट कमका पत्रका सम्पादक सुशील पन्तसँग भेट गरेको छ। समाचार लेखेको कसुरमा प्रहरीले पक्राउ गरेका पन्त र सो अनलाइनका सञ्चालक सन्तोष भट्टराईलाई तत्काल रिहा गर्न समेत उनले माग गरेका छन्।
'समाचार लेखेकै आधारमा अपराधीजस्तो पक्राउ गर्न पाइँदैन', काउन्सिल अध्यक्ष वोर्णबहादुर कार्कीले नागरिकन्युजसँग भने- 'यो प्रेस स्वतन्त्रताको चरम उल्लंघन हो।' समाचारको मुद्दा आफ्नो क्षेत्राधिकार भएको भन्दै काउन्सिलले छानवीन गर्ने उनले बताए। 'पत्रकार आचारसंहिता उल्लङघन छ कि छैन काउन्सिलले छानविन गर्छ, त्यो प्रहरीको काम होइन' अध्यक्ष कार्कीले- 'उनलाई तत्काल रिहा गरिनुपर्छ।'
पत्रकार पन्तलाई प्रहरीले केही काम छ हनुमानढोका बोलाएको थियो। हनुमानढोका पुगेका पन्तलाई सो समाचारको विषय निकाल्दै प्रहरीले थुनामा पठाएको थियो। पन्तसँगै नेपालीहेडलाइन्सका प्रकाशक सन्तोष भट्टराई पनि पक्राउ परेका हुन्।
दुई हप्ताअघि एक्स्ट्राखबर डट कमले डिल्लीबजार कन्या क्याम्पसको ट्वाइलेटमा दुईभन्टा भेटिएको खबर प्रकाशित गरेपछि भ्रामक समाचारले कलेजको इज्जतमा धक्का लागेको भन्दै राष्ट्रिय महिला आयोग र प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीका आधारमा जेठ २७ गते एक्स्ट्रखबर डट कमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले सो समाचार नेपालीहेडलाइन्सबाट लिंक लिएको बताएपछि प्रहरीले पत्रकार पन्त र भट्टराईलाई अनुसन्धानको दायरामा ल्याएको थियो।
अमानवीय तरिकाले कलेज र महिलाको इज्जतमा आँच आउने कार्य गरेकोले उजुरी गरेको डिल्लीबजार कन्या क्याम्पसका प्राचार्य भोला रेग्मीले बताए। 'समग्र महिला र कलेजको इज्जत प्रतिष्ठामा आँच आउने काम गरेकाले हामीले न्याय माग्दै उजुरी गरेका हौं', प्राचार्य रेग्मीले नागरिकन्युजसँग भने- 'हाम्रो केलेजमा पनि पत्रकारिता पढाइ हुन्छ ह्युमन सेन्स भएकाले त्यस्तो समाचार लेख्न सक्दैन।'
Category: News
0 comments