३७ वर्ष पढाउदा पनि आफु चाहि अस्थाई को अस्थाई

npnews | 02:59 | 0 comments

गोरखा- केश सेताम्मै भइसके। आफूले पढाएका विद्यार्थीले पेन्सन पकाइसके। कति डाक्टर, इन्जिनियर, उद्यमी पनि भए, स्थायी त कति–कति! ३७ वर्षदेखि प्राथमिक तहका पढाइरहेकी गोरखा सदरमुकामकी भजराम जोशी (५६) अझै अस्थायी नै छन्।
उनले शनिबार शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी पदका लागि परीक्षा दिइन्। 'मेरो यो रहर होइन, बाध्यता हो, वर्षौंदेखि काम गरिरहेका अस्थायी शिक्षकको हालत मेरैजस्तो छ।'
गोरखाका १८ केन्द्रमध्ये रत्नलक्ष्मी निमावि डुमीडाँडाबाट उनले परीक्षा दिइन्। परीक्षाकेन्द्रमा धेरैजसो नयाँ अनुहार, भजराम पाको शिक्षिका। उनका एकेक छोराछोरी छन्। छोरो स्नातक तेस्रो, छोरी दोस्रो वर्षमा पढ्दै।

भजरामका श्रीमान छैनन्। आफ्नै पाखुरीले छोराछोरी हुर्काइन्, पढाइन्। स्थायी शिक्षक बन्ने धोको अझै मरेको छैन। भन्छिन्, 'आम्दानीको बाटो छैन, अस्थायी भए पनि मासिक १३ हजार कमाउँछु, स्थायी हुने धोकोले आयोग दिएकी।' उनले कखरा सिकाएको मीनादेवी श्रेष्ठले त्यही स्कुलमा पढाएर पेन्सन खाइसकेको उनी सुनाउँछिन्।

भजरामले २०३३ देखि २०५० सम्म तत्कालीन समयमा बालसंगठनका रूपमा रहेको (हाल बालमन्दिर निमावि) मा अस्थायी रूपमा पढाइन्। २०४८ सालमा दरबन्दीका अस्थायी शिक्षक सबै स्वतः स्थायी बनाइए, उनले संगठनको छुट्टै व्यवस्थापनअन्तर्गत रहेकाले त्यो अवसर पाइनन्। २०५४ मा बालमन्दिर निमावि (अहिले पढाइरहेको विद्यालय) मा जोशीले दरबन्दीमा पढाउन थालेकी हुन्।

त्यसो त आयोग परीक्षामा यो पहिलो अनुभव होइन। भजरामले २०५२ मा पनि आयोग परीक्षा दिएकी थिइन्। लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा फालिइन्। नाम निस्केला र स्थायी भइएला भन्ने उनलाई त्यत्ति आशा भने छैन। '२०५२ मा त लिखित पास भएको थिएँ, अहिले त पहिलेको भन्दा नयाँ कुरा, नयाँ पुस्तासँग मैले के सकूँला!'

अस्थायी जागिर छाडेर अरू काम गर्न नसक्ने बताउँदै जोशी भन्छिन्, 'सकुन्जेल र पाउन्जेल अस्थायी नै भए पनि पढाउँछु।' १८ वर्षपछि खुला प्रतिस्पर्धा गर्न पाउने गरी खुलेको शिक्षा सेवा आयोगको परीक्षामा गोरखाबाट मावि, निमावि र प्रावि सबै तहमा गरी १० हजारभन्दा बढीले परीक्षा दिएका छन्।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments