नेपाली दलालीले १४ नेपालीहरुलाई दुई महिनासम्म थाइल्याण्डमा अलपत्र पार्यो

npnews | 04:49 | 0 comments

नेपाली एजेन्टले नै नेपालीलाई विचल्ली पार्यो :भिडियो हेर्नका लागि यहाँ क्लिक् गर्नुहोस् :

१४ साउन, काठमाडौं । वैदेशिक रोजगारीको मीठो सपना बुनेर थाइल्याण्ड पुगेका १४ नेपालीहरु दलालका कारण दुई महिनासम्म अलपत्र परेर स्वदेश फर्केका छन् । स्वदेश फर्किएका उनीहरुले त्यहाँ अरु पनि नेपाली नागरिकहरु समस्यामा परेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । आइतवार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले थाइल्याण्डमा मानव तस्करहरुको ठूलो सञ्जाल भएकाले धेरै नेपाली अलपत्र अवस्थामा रहेको जानकारी दिएका हुन् ।
आफ्नै नातेदारबाट भारतको बाटो हुँदै भिजिट भिसामा थाइल्याण्ड पुगेका नेपालीहरु एक गैरसरकारी संस्थाको सहयोगमा दुई महिना सात दिनपछि स्वदेश आइपुगेका हुन् । प्रत्येकले पाँच लाखभन्दा बढी रकम नेपाल र थाइल्याण्डमा बस्ने एजेन्टलाई बुझाएर गएको बताएका छन् । थाइल्याण्डमा बस्ने मायादेवी कामी र रबिन बोगटीले आफूहरुलाई फसाएको उनीहरुले बताएका छन् । पीडित हेरमान गोपालीले कार्यक्रममा भावुक हुदै भने -’भगवानले बचाएर हामी त नेपाल फर्कियौ अन्य धेरै नेपाली बिचल्लीमा परेका छन् ।’

पाँचथर थर्पु-५ की थाइल्याण्ड निवासी मायादेवीले स्कुलमा पढाउनका लागि भन्दै चर्को रकम लिएर त्यहाँ पुर्‍याउने र बिचल्ली बनाउँदै आएको पीडित तुलबहादुर श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने -'एजेन्ट मायादेवी नेपालको ब्ल्याक लिष्टमा परेकाले नेपालीहरुलाई भारत हुँदै थाइल्याण्ड पुर्‍याइरहेकी छिन् ।’

नेपाल फर्किएका युवायुवतीहरु अहिले राजधानीमा रहेको आशा फाउण्डेशनमा बसेका छन् । उनीहरुको कानूनी उपचारका लागि फाउण्डेशनकी अध्यक्ष आशा लामा जुटिरहेकी छिन् ।

कसरी पुगे १४ नेपाली थाइल्याण्ड ?

पीडित हेरमान गोपालीले थाइल्याण्ड यात्राकाबारेमा यसरी सुनाए- थाइल्याण्ड बस्ने एजेन्ट मायादेवी कामी र रबिन बोगटीले राम्रो रोजगारीमा लगाइदिने भन्दै हाम्रा नजिकका आफन्तमार्फत जानकारी प्राप्त भयो । एकजना आफन्त सुनील गोपाली केही समयअघि तिनै एजेन्टमार्फत नै थाइल्याण्ड पुगेका थिए । उनले ती एजेण्टले राम्रो काम लगाइदिन्छन् भन्दै ढुक्क हुन आग्रह गरेपछि म साँढे पाँच लाख तिर्न राजी भएँ । मसँगै सुरेन्द्र, धर्मेन्द्र र सुमन थाइल्याण्ड जाने भन्दै काठमाण्डौ आइपुग्यौं । हामीलाई लागेको थियो, काठमाडौंबाट नै उड्न पाइन्छ होला भनेर । तर, त्यसो भएन । यहाँ आउँदा त हामीसँगै १४ जनालाई माईक्रो बस चढाएर सुनौली पो लगियो ।

नेपालबाट उड्न टिकट नपाएको भन्दै हामीहरुलाई गोरखपुर हुदैँ कोलकाता पुर्‍याइयो, त्यहाँ तीन दिन राखेपछि गत मे २८ मा हामी १४ जना नै थाइल्याण्ड पुग्यौं । त्यतिबेलासम्म हामी कसैले पनि यति ठूलो ठगको फन्दामा पर्दैछौं भन्ने सोचेका थिएनौं । सुरुमा सडक पेटीमा नै रात बिताउन बाध्य भयौं । एजेन्ट मायादेवी काम खोज्न व्यस्त छु भन्दै हामीलाई नआत्तिन आग्रह गर्थिन् । एउटा सानो कोठामा हामी कैदीझैं दिन काट्न थाल्यौं तर, काम पाउने कुनै छाटकाँट नै थिएन । दिनहरु बित्दै गए, हामी आत्तिन थाल्यौं । अब त एजेण्ट मायादेवीले जागिर लगाइदिनु त परै जाओस्, उल्टै धम्क्याउन थालिन् । अनि बल्ल हामी ठगिएको थाहा भयो र हामी आत्तियौ ।
दूतावाससँग असन्तुष्टी

थाइल्याण्डबाट फर्किएका युवाहरुले नेपालीलाई समस्यामा पर्दा नेपाली दुतावास थाइल्याण्डले बेवास्ता गरेको भन्दै आक्रोस पोखेका छन् । थाइल्याण्डमा आफूहरु ठगिएको थाहा पाएपछि उनीहरु दूतावासमा उद्धारका लागि पुग्दा कुनै पनि सहयोग नपाएको भन्दै रुष्ट बनेका हुन् । पीडित महिला उषाकुमारी लामाले भनिन्-’आफ्ना नागरिकहरु समस्यामा पर्दा एजेण्टको कुरा सुनेर हामीलाई दूतावासले वेवास्ता गर्‍यो ।’
थाइल्याण्डवाट फर्किएका भीमप्रकाश श्रेष्ठले भने-’हामी अदालतमा लड्दासमेत दूतावासले चासो दिएन ।’ धेरै नेपालीहरु थाइल्याण्डमा बिचल्लीमा परेको जानकारी दूतावासलाई थाहा हुँदासमेत कुनै कदम नचालेको आरोप उनको छ ।

श्रीमती र आफन्त पठाउँदा

आफन्तहरुको सहयोगमा थाइल्याण्ड पुगेका नेपालीहरुमा श्रीमानले श्रीमती पठाएर पनि ठगिएका छन् । नेपाली एजेण्ट एकलाल गोपालीले आफ्नै श्रीमती विमला लामालगायत आफन्त हेरमान गोपाली, सुरेन्द्र गोपाली, धमेन्द्र गोपाली र सुमन गोपालीलाई पठाएका थिए । त्यस्तै एजेण्ट नरबहादुर घलेले भीमप्रकाश श्रेष्ठ, सरोज भुजेल, राजु गुरुङ, राजेश श्रेष्ठ, रुपबहादुर राना, उषाकुमारी लामा, डुबशान लामा, अजित तामाङ र तुलबहादुर श्रेष्ठलाई पठाएका थिए । भिडियो हेर्नका लागि यहाँ क्लिक् गर्नुहोस् :

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments