भाडा माझ्ने देखि मलेसिया सम्म पुगेका विल्सन कसरि बने तक्मे बुढा हेर्नुहोस !!!

npnews | 02:48 | 0 comments

यतिबेला बजारमा चर्चा छ त ‘तक्मे बुढा’ अर्थात विल्सन विक्रम राइको । ‘मेरी बास्सै’मा उनले गरेको अभिनय देखि ‘सायद’ सिनेमामा उनले बोलेको संवादको चर्चा जताततै छ । विल्सन अहिले सफलताको शिखरमा छन् । तर उनलाई यो सफलता यसै मिलेको भने होइन । १० बर्ष सम्म निर्माता निर्देशकको घर र अफिसमा धाउँदा धाउँदै उनी निराश भएका थिए । काठमाण्डौको महंगो बसाइमा रुमल्लिदै आफ्नो कलाकार बन्ने सपनालाई पुरा गर्न उनी भौतारिरहे । कतिपय निर्माता निर्देशकले त उनलाई सिनेमा खेलाइदिन्छु भन्दै भाँडा माँझ्न पनि लगाए । तर पनि उनको मिहिनेत खेर गयो । चलचित्र ‘साथी’मा सानो भूमिका गरेपछि कलाकार बन्ने भूत उनमा सवार भयो । तर १० बर्षसम्म काठमाण्डौमा भौतारिदा पनि उनले केही पाएनन् । यसपछि उनी लागे मलेसिया, जागिर खाएर परिवार पाल्ने सपना बोक्दै । विल्सन अर्थात तक्मे बुढाले मलेसियामा लामो समयसम्म काम गरेनन् । यसपछि उनी नेपाल फर्के र कलाकार बने । सिनेमा खेल्नका लागि गरेको संघर्ष, मलेसिया हुँदै ‘तक्मे बुढा’सम्मको यात्रा कसरी गरे त विल्सनले । प्रस्तुत त उनकै भाषामा जीवनको संघर्ष र सफलताको कथा 
भिडियोमा हेर्नुस

सानैबाट कलाकार बन्ने सोच थियो । चलचित्र ‘साथी’मा मैले ३० मिनेट जति अभिनय गरेको थिए । तर पर्दामा आउदा जम्मा ३० सेकेन्डको भएर आएछ । साथीहरुलाई लिएर सिनेमा हेर्न गएको थिए, तर आफ्नो दृश्य आएको र गएको पत्तै भएन । तर पनि सानो समय भएपनि पर्दामा आउदा कता कता खुशी पनि लाग्यो । यसपछि सुरु भयो मेरो कलाकार बन्ने सपना र संघर्ष । कलाकार बन्ने भन्दै म काठमाण्डौ आए । काठमाण्डौको महंगीमा कलाकार बन्न धेरै नै दौडधुप गरियो । नेपाल चलचित्र विकास कम्पनी बालाजुको हलमा कलाकारहरुको भिड नै लाग्थ्यो । म मिनभवनबाट हिड्दै दैनिक त्यहाँ पुग्थे र आफू पनि चर्चित कलाकार बन्ने सपना देख्ने गर्थे ।
बालाजुमा मैले करिब २ बर्षसम्म कोरस डान्सरको रुपमा काम गरेको छु । मलाई त निर्माता निर्देशकले कति झुलाए झुलाए के भन्नु र । सधै सिनेमा खेल्ने भए अफिसमा आउनु भन्नुहुन्थ्यो, म कलाकार बन्ने सपना बोकेर दैनिक कसै न कसैको अफिसमा पुग्ने गर्थे । तर सबैले मलाई खेलाउँछु भन्नु भयो कसैले पनि खेलाउनु भएन । मैले धेरै निर्माता निर्देशकको झोला बोकेर सुटिङ स्थलमा पनि पुगेको छु । सिनेमा खेलाउँछु भन्दै धेरैले मलाई घरमै भाँडा पनि मझाँउनु भएको छ ।
म दिक्क भएर फेरी आफ्नै घर फर्किएको थिए । एकजना निर्माताले फोन गरेर काठमाण्डौ आउँ म सिनेमा खेलाउँछु भनेर बोलाउनु भयो । निक्कै खुशी भएर काठमाण्डौ आए, तर सिनेमा खेलाउनु त परको कुरा उहाँले मलाई नमस्कार खान मात्र बोलाए जस्तो लाग्यो । कहिले तिमी न त बालकलाकार न त नायकको नै भूमिकामा सुहाउँछौ भन्दै काम दिनु भएन त कहिले के के भन्नु भयो । मलाई सिनेमा खेल्ने मानिस भगवान लाग्थ्यो । किनकी चलचित्र मन्दिरमा चल्छ । मलाई राजेश हमाल त भगावन नै जस्तो लाग्थ्यो । कहिलेकाही घरमा बाबाले पिट्दा मलाई राजेश हमाल आएर बचाउनु हुन्छ जस्तो लाग्थ्यो । निक्कै लामो संघर्ष गर्दा पनि केही हात नलागेपछि म १ लाख २० हजार खर्च गरेर मलेसिया पुगे । तर त्यहाँ रहनु भएका दाजुभाइहरुले मलाई तपाई नेपाल नै फर्केर कलाकार बन्नुहोस् भन्नुभयो । मैले त्यति बेलासम्म केही सिरियलमा काम गरेको थिए । यसैले उहाँहरुले मलाई चिन्नु हुँदो रहेछ । ममा निराशा त थियो नै तर कलाकार बन्ने चाहना भने मरेको थिएन ।
मलेसिया पुगेको करिब २ महिना पश्चात सुरज सुब्बा ‘नाल्बो’ले चलचित्र ‘सायद’का लागि अफर गर्नुभयो । मैले २ महिनाको तलब पनि नलिई जागिर छोडे र नेपाल फर्किए । मलाई नेपाल र्फकनका लागि त्यहाँ रहनुभएका नेपालीहरुले पैसा हालिदिनुभएको थियो । नेपाल फर्केपछि मैले ‘सायद’ सिनेमा खेले । ‘मेरी बास्सै’का केदार घिमिरेले पनि मलाई साथ दिनुभयो । उहाँले मलाई ‘तक्मे बुढा’को नाम दिनुभयो । आज मसँग नाम छ, केही पैसा कमाएको छु । तपाइहरुलाई एउटा कुरा पनि म भनिहाल्छु, मैले हिजो दुख दिने निर्माता तथा निर्देशकको सिनेमा खेलेको छैन ।
किनकी मलाई दुखमा साथ नदिनेको चलचित्र मलाई खेल्नु पनि छैन । पैसा हाल सिनेमा खेलाइदिन्छु भन्नेहरु त कति भेटे कति मैले । तर मलाई के थाहा थियो भने प्रतिभा भयो भने एकदिन पक्कै पनि अवसर पाइन्छ । मेरो लागि केदार घिमिरे पर्दाका पिता नै हुनुहुन्छ । मैले आजसम्म आफ्नो अभिनयको ४ भागको १ भाग पनि देखाएको छैन । म अझै निक्कै कुराहरु गर्न चाहन्छु ।
दर्शक र भगवानको साथले मैले आजसम्म २४ वटा देश घुमिसके । केही देशमा त दर्शकहरुले मलाई ढोग्न पनि आउनुभयो । म त छक्क परे आखिर साना साना नानीहरुले मलाई किन ढोग गरे भनेर । साना नानीहरुको आर्मीमा काम गर्ने अवकाश पाएका हजुरबुवा वित्नु भएछ । त्यसपछि उनीहरुको अभिभावकले मलाई नै हजुरबुवा भन्दा रहेछन् । लण्डन पुग्दा त ति नानिहरुले खुट्टामै ढोग गरे । मैले बनाएको पासपोर्टको पाना निक्कै चाडो सकिएपछि म परराष्ट्र मन्त्रालय पुगे ।
मैले १२० पाना भएको पासपोर्ट चाहियो भन्दै परराष्ट्रमा निवेदन पनि दिएको थिए । उहाँहरुले विदेश धेरै घुम्ने नेता देखि कलाकारका लागि केही बढि पाना भएको पासपोर्ट बनाइदिदै हुनुहुन्छ । मलाई थाहा छ मैले मानिसलाई रुवाएर हैन हसाँएर मेरो परिवार पालेको छु । यसरी सधै भरी नै मानिसहरुलाई हसाँइरहन पाउँ । यो सुरुवात हो, अन्त्य होइन, यसैले म दुखको भिडबाट आएको मानिस हुँ, मिहिनेत गरेर आशा नछोड्ने हो भने पक्कै सफलता पाइन्छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments