कारागारबाट सुरुङ खनेर भाग्ने कुख्यात फरार कैदी यसरी भारतमा पक्राउ
कैदीबन्दीहरुको खोजी गर्ने कार्यलाई संयुक्तरुपमा खोजि गरिरहेको बेला भारतीय प्रहरीको सक्रियतामा ती कुख्यात अपराधी यसरि पक्राउ......
१६ असार आठ महिनाअघि सुनसरी जिल्लाको भासीमा रहेको पूर्वाञ्चल क्षेत्रीय कारागारबाट पक्की सुरुङ खनेर भागेका १२ कैदीबन्दीमध्ये प्रहरीको उच्च खोजीको सूचीमा रहेका धीरेन्द्र यादवसहित तीनजनालाई पक्राउ गरिएको छ ।
गत कात्तिक २३ गते राति कारागारभित्रबाट नै तयार पारेको पक्की सुरुङबाट निक्लिएर भागेका १२ कैदीमध्ये भारतमा ४२ जना तथा सप्तरी जिल्लामा सातजना मानिसको हत्यामा संलग्न भएको अभियोगमा सजाय भोगिरहेका धीरेन्द्र यादव, बमबम यादव र सुवास झालाई सुनसरी जिल्लाको सीमावर्ती भारतको विहार राज्यको वीरपुर इलाकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कारागारबाट फरार हुनासाथ नेपाल र भारतको प्रहरीले निरन्तर सञ्चार सम्पर्क स्थापित गरेर फरार कैदीबन्दीहरुको खोजी गर्ने कार्यलाई संयुक्तरुपमा गरिरहेको बेला भारतीय प्रहरीको सक्रियतामा ती कुख्यात अपराधी पक्राउ परेका हुन् । सुनसरी जिल्ला प्रहरी कार्यालयले क्षेत्रीय कारागार झुम्काबाट फरार कैदीबन्दीहरु पक्राउ परेको भनेर सूचना आएको जानकारी दिँदै पक्राउ परेका धीरेन्द्र यादवमाथि मानिस हत्याबाहेक कीर्ते नागरिकता, लुटपाट, फिरौती असुली, ज्यान मार्ने धम्की तथा अपहरणजस्ता एक दर्जन अपराधमा संलग्न भएको अभियोगसमेत रहेको बताइएको छ ।
कारागारबाट फरार रहेर भारतमा लुकेर बस्दै आएका धीरेन्द्र र उनको समूहले दुई दिनअघि मात्र सप्तरीका एक ब्यापारीलाई धम्क्याएर रु सात लाख असुलेको तथ्यसमेत फेला परेको छ । पक्राउ परेका तीनजनाको साथबाट एसएमजीमा लाग्ने १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले बताएको छ ।
कारागारबाट फरार भएपछि पनि धीरेन्द्रसहितको समूहले सुनसरी र सप्तरीलाई केन्द्र बनाएर आपराधिक क्रियाकलाप गर्दै आएको र नेपालतिरको प्रहरीले उनीहरुको खोजी गरिरहेको थियो भने भारतीय प्रहरीले धीरेन्द्रसहितको टोलीका विषयमा सूचना दिनेलाई दुई लाख पुरस्कार दिने घोषणासमेत गरेको थियो ।
सुरुङ खनेर फरार कैदीमध्ये कुख्यात अपराधी सुव्रत बेन भनिने अस्रफ अलि भारतको कोलकातामा र बुलबुल भनिने रमेश यादव सुनसरीमा नै पक्राउ परिसकेका छन् । फरार १२ कैदीबन्दीमध्ये सातजनाको अझै खोजी भइरहेको सुनसरी प्रहरीले बताएको छ । खोजी कार्यमा नेपाल र भारतीय प्रहरीको संलग्नता रहेको बताइएको छ ।
Category: News
0 comments