क्रिकेट खेलाडीलाई जनही रु ३ लाख ५० हजार दिइने

Tika | 17:38 | 0 comments

२३ वैशाख,काठमाडौ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ९७औँ बोर्ड बैठकले बर्मुडामा सम्पन्न आइसिसी क्रिकेट लिग डिभिजन–३ प्रतियोगिताको टिम च्याम्पियन भई डिभिजन–२ मा प्रवेश गर्न सफल नेपाली क्रिकेट टिमका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई जनही रु तीन लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ।
बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्य–सचिव युवराज लामाले सो कुरा बताएका हुन् । यसका साथै बैठकले अन्य निर्णय समेत लिएको छ। 
निर्णय यसप्रकार छन्..
देशका विभिन्न स्थानमा रहेका प्रतिभावान खेलाडीको पहिचान गर्दै उनीहरूलाई उचित तालिम प्रदान गर्ने उद्देश्यले देशका सबै २४० वटै निर्वाचन क्षेत्रमा सेमी–कभर्डहल एवम् खेल मैदान निर्माण गर्ने

विगत पाँच वर्षदेखि बर्सेनि सञ्चालन गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्ने
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकुदलाई प्रत्येक नागरिकको पहुँचमा पु-याउँदै दक्ष जनशक्ति उत्पादन गर्न खेलकुद विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने 
राष्ट्रिय खेलकुद पदक’ प्रदान गर्ने निर्णय, यो पदकको पुरस्कार राशि रु ५० हजार रहेको छ । 
२५ देखि ३० हजार दर्शक क्षमता भएको एक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने
अन्तर्राष्ट्रिय प्रतियोगिताहरू विश्व च्याम्पियनसीप, एसियाली च्याम्पियनसीप र साग (दक्षिण एसियाली) च्याम्पियनसीपमा स्वर्ण, रजत र कास्य पदक हात पार्ने खेलाडीहरूलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गर्ने
यी निर्णय मन्त्रिपरिषद्को बैठकबाट पारित गराइने पनि लामाले बताएका छन् ।
सदस्य–सचिव लामाका अनुसार राखेपले आगामी आर्थिक वर्ष २०७०-७१ का लागि नेपाल सरकारसँग माग गरेको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत भएको छ। 
राखेपले आगामी आर्थिक वर्षका लागि उपभोग खर्चतर्फ रु ३३ करोड ४५ लाख ७९ हजार, कार्यक्रमतर्फ रु १९ करोड एक लाख ६८ हजार र पुँजीगततर्फ रु ४९ करोड ५८ लाख २६ हजार गरी रु एक अर्ब दुई करोड पाँच लाख सात हजार बजेट प्रस्ताव गरेको छ ।

युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठको अध्यक्षतामा बोर्ड बैठक बसेको थियो।
भिडीयो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments