कस्तो अचम्म विबाहको दिन बेहुलाको निधनले सपना अधुरै रह्यो !!

Tika | 14:48 | 0 comments

२३ मंसिर। विबाहको दिन बेहुलाको निधन भयो भने के होला? धेरैले कल्पना नै नगर्ने यो घटना उदयपुरको रिस्कु गाविसका वासिन्दाले भोग्नुपरेको छ। वेहुलीको घरमा तामझामका साथ विहेको तयारी हुँदै थियो, बारीमा बंगुर काटेर जन्तीका लागि मिठो परिकार पाक्दै थियो। जन्तीलाई मिठो परिकार खुवाएर दुलही अन्माएर पठाउने उदयपुर रिस्कु गाविस ४ देउरी कुनाबासीको सपना अधुरै रह्यो। विबाहकै दिन शनिबार विहान रिस्कु गाविस ४ का प्रकाश मगरको निधनले वेहुला र वेहुलीको परिवार मात्रै हैन आफन्त र छरछिमेकी सबै शोकमा परेका छन्। शनिबार रातीको लगनमा विहेको लागि विहान जन्ती जाने तयारी हुँदै थियो। आफ्नै घरमा विवाहका लागि आएका पाहुनासँग हर्ष उल्लासका साथ नाचगान गरी सुतेका प्रकाशले एकैछिनको व्यथाले शनिबार विहान संसार छाडेका हुन। छिमेकी राजु राईका अनुसार बेलुकासम्म नाचगान गरेर सुतेका प्रकाश विहान सबेरै शौचालयबाट आएर फेरि सुतेका थिए। त्यसको केहीबेरमै एक्कासी छटपटिएर खाटबाट लडेको १० मिनेटमा नै उनको ज्यान गयो। विरामी भएर छटपटिन थालेपछि उपचारका लागि लैजाने तयारी गर्दागर्दै ज्यान गएको परिवारले जनाएको छ।‘पिसाब फेरेर आएको छोरो केही तन्त्रमन्त्र लागेर छटपटाएको हो कि जस्तो लाग्यो, धामीझाँक्री र औषधि उपचार गराउनु पर्छ की भन्ने सोच बनाउँदा बनाउँदै संसारबाट विदा भयो’ बुबा कर्णबहादुरले गहभरि आँशु पार्दै भन्नुभयो। छोराको मृत्यूपछि ४५ बर्षिया आमा मुना छिनछिनमा बेहोस हुन्छिन्। होस खुल्ने वितिकै छोरा सम्झेर रुने र चिच्याउने गर्छिन्। तीन छोरा र तीन छोरी रहेको मगर परिवारमा प्रकाश जेठा छोरा हुन्। उनको सामाजिक परम्परा अनुसार शनिबार नै अन्त्यष्टि गरिएको छ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments