नेपालमा किन आए चिनियाँ स्टेट काउन्सिलर ?

npnews | 08:10 | 0 comments

चिनियाँ स्टेट काउन्सिलर नेपाल भ्रमण आउनुको मुख्य उद्देश्य के थियो त ? पुरा विवरण तल हेर्नुहोस !!!

१० असार, काठमाडौं । चीनको राज्य परिषदका ‘स्टेट काउन्सिलर’ याङ जेइची नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आउनुभएको छ । उपप्रधानमन्त्री सरह हैसियतमा रहेका याङको यो उच्चस्तरीय भ्रमण हो । 
विशेष विमानबाट १८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरी याङ म्यान्मार हुँदै काठमाडौं आइपुग्नुभएको हो । चिनियाँ अधिकारीको यो भ्रमणलाई नेपालको मामिलामा चीनले दिएको उच्च महत्वका रुपमा हेरिएको छ ।

भ्रमणको उद्देश्य नेपालको आसन्न निर्वाचनलाई सहयोग गर्नु एवं काठमाडौंको रिङरोड सुधार आयोजनाको उद्घाटन गर्नु रहेको भनिए पनि यो भ्रमणले कूटनीतिक सन्देशसमेत दिन खोजेको बताइन्छ । विगत बाबुराम नेतृत्वको सरकारका पालामा भन्दा रेग्मी सरकारसँग सम्बन्ध सुमधुर रहेको चीनले देखाउन खोजेको केही विश्लेषकहरुको तर्क छ । ‘साथै आगामी निर्वाचनमा पनि हामी सहयोगी भूमिका खेल्न चाहन्छौं भन्ने सन्देश चीनले नेपाललाई दिन खोजेको देखिन्छ ।’ चीन मामिलाका एकजना जानकारले अनलाइनखबरसँग भने ।
विदेशमन्त्रीको अनुभव सम्हालिसकेका उच्च तहका याङ चीनको विदेश नीति निर्माण गर्ने पाँच प्रभावशाली व्यक्तिमध्येका एक मानिनुहुन्छ । नेपालसम्बन्धी जानकार उहाँ पटक-पटक नेपाल आइसक्नुभएको छ । गत वर्ष तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओसँगै उहाँ नेपाल भ्रमणमा आउनुभएको थियो ।
के-के गर्दैछ चिनियाँ भ्रमण दलले ?
स्टेट काउन्सिलर याङले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग द्वीपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । चीनले सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि तीन अर्ब ५० करोड प्रदान गर्न सहमति जनाएको छ । त्यसैगरी, संविधानसभाको निर्वाचनमा सघाउन चीनले १५ करोड ४१ लाख सरकारलाई उपलव्ध गराउने वचन दिएको छ ।
आर्थिक सहायतासम्बन्धी दुई सम्झौतामा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र स्टेट काउन्सिलर याङको उपस्थितिमा अर्थ सचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य मन्त्रालयका उपमन्त्री जेयाङ जेङवेइले हस्ताक्षर गर्ने कार्यक्रम छ ।
गत वर्ष तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणका बेला चक्रपथ विस्तार गर्ने द्विपक्षीय सहमति भएअनुसार उक्त बाटोको शिलान्यास हुन लागेको हो । काम सुरु गरेको मितिले ४३ महिनामा सम्पूर्ण काम पूरा गर्ने गरी गत पुसमा सडक विभाग र चिनियाँ निर्माण कम्पनी साङ्घाइ कन्स्ट्रक्सन ग्रुपबीच सम्झौता भइसकेको छ ।
नेपाल भ्रमणका क्रममा याङले कार्यवाहक राष्ट्रपति परमानन्द झा र मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनका पूर्वविदेशमन्त्रीसमेत रहेका याङले चक्रपथ विस्तार आयोजनको मंगलबार नै शिलान्यास गर्नुहुनेछ । चिनियाँ सरकारको सहयोगमा कलङ्की-कोटेश्वर साढे नौ किलोमिटर बाटो दश ‘लेन’ मा विस्तार हुन लागेको हो । काठमाडौं रिङरोड सुधार आयोजनामा हस्ताक्षरसँगै मंगलबार बेलुका साढे ३ बजे सोल्टी होटलको रोज गार्डेनमा जलपान समारोहको आयोजना गरिएको छ ।
म्यानमारपछि नेपाल
चीनले दक्षिण पूर्वी एशियाको म्यानमारलाई कूटनीतिक एवं रणनीतिक हिसाबले महत्वपूर्ण मानेको छ । सम्भवतः यही कारणले याङको टोलीले काठमाडौं आउनुपूर्व म्यानमारको भ्रमण गरेको हो । नेपालका पूर्वचिनियाँ राजदूत याङ होऊलान म्यानमारमै रहेकाले काउन्सिलर याङले त्यहाँ रहँदा नेपालका विषयमा समेत छलफल गरेको अनुमान लगाउन सकिन्छ । अर्को महत्वपूर्ण पक्ष यो पनि देखिएको छ कि चीनले दक्षिणपूर्वी एशियाली मुलुक म्यानमारलाई जस्तै दक्षिण एशियाली देश नेपाललाई महत्व दिन थालेको छ ।

Category:

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments