पुग्ने राहत देउ, नत्र गोली देउ – आगलागि पिडीत

Tika | 19:15 | 0 comments


डिकेश लामा, बेलडाँगी ।
शरणार्थी शिविर नेतृत्वले चार दिनअघि भएको भिषण आगलागिमा परी घरवारविहीन भएका शरणार्थीहरूलाई उचित राहतको माग गरेको छ ।
आगलागि पिडीत शरणार्थीलाई राहत नपुगेको भन्दै सेक्टर प्रमुख चन्द्र मगरले भावुक हुँदै सम्वन्धित निकायसँग उचित राहतको माग गरेका हुन् ।
‘४ दिन भईसक्यो खानको लागि चामाल र बस्ने बाँस, चित्रा र प्लाष्टिकसम्म छैन’ मगरले सार्वजनिक स्थलमै आँसु झार्दै भने, ‘शरणार्थीहरुबाट संकलन गरेको चामाल पकाएर एउटै चुल्होमा खाना खान समस्या भएको छ भने सुत्ने ठाउँको अभावमा सिकुवामा समेत ओछ्यान छ ।’ यति हुँदाहुँदै पनि सरोकारवाला निकायले वेवास्ता गरेको भन्दै सेक्टर प्रमुख मगरले संस्थाले हेर्न नसक्ने भनी दिए आफूले विचल्नी परिवारलाई त्यही सन्देश सुनाउने बताए ।



 आगलागीमा परी विचल्नीमा परेकालाई बस्ने व्यवस्थाप्रति सरोकारवाला निकायले वेवास्ता गरेको भन्दै शुक्रबार शरणार्थीहरुले शिविर कार्यालयमा दवाव दिएका छन् । शिविर व्यवस्थापन समिति, यूएनएचसीआर, नेपाल सरकार शरणार्थी समन्वय इकाइ लगायतका प्रतिनिधि सामू विचल्नी शरणार्थीहरुले आफूहरुलाई ‘व्यवस्थापन गर्न नसके गोली हानेर मारी दिनु’ भनी पीडा समेत व्यक्त गरे ।
विचल्नीमा परेका शरणार्थीको बारेमा बोल्दै शिविर प्रतिनिधि रेनुका प्रधानले बाँस र आवश्यक प्लाष्टिकको व्यवस्था चाँडो गरि दिन जिम्मेवार प्रनिनिधि समक्ष कुरा राखिन् ।
आगलागी भएको ४ दिन वितिसक्दा समेत आगलागी क्षेत्रको फोहोर व्यवस्थापन नभएकोले शरणार्थीहरु विरामी समेत पर्न थालेको पीडितहरुले बताएका छन् । आगलागीमा परी जलेका चौपाय, पंक्षीहरु गनाउन थालेको र खरानीको धुलोका कारणसमेत आगलागि पीडित शरणार्थीहरू विरामी पर्न थालेको शरणार्थीहरुले बताएका छन् ।
विगतमा आगो लाग्दा बाँस, चित्रा, प्लाष्टिक तत्काल उपलव्ध गराउँदै आएको संस्थाले यस पटकको आगलागीमा भने पूनर्वासमा गएका शरणार्थीहरूको खाली घरमा राख्ने नीति बनाएकोले आफूहरुलाई केही उपलव्ध नगराएको पीडितहरुले बताएका छन् ।


 आगलागी भएको ४ दिन वितिसक्दा समेत शरणार्थी रेखदेख निकायले अति आवश्यक सामाग्री चामाल, बाँस र त्रिपालको व्यवस्था नगरेकोले समस्या उत्पन्न भएको पीडित सेक्टर सी/४ छाप्रा नं. ६२ का नरबहादुर गुरुङ्गले गुनासो गरे । त्यस्तै आगलागि पिडीत हरिमाया खड्काले आफ्नी विरामी आमालाईसमेत खाना खुवाउन हम्मेहम्मे भएको बताइन् ।
यता पीडित शरणार्थीलाई दातृ निकायले खाली छाप्रामा स्थान्तरण गर्न खोजेको कार्यप्रति शरणार्थीहरुले असहमति जनाएका छन् । बस्ने र खाने ठाउँको ठेगान नभएका ४ सय बढी शरणार्थीलाई राहत उपलव्ध गराउनुको सट्टा अर्को घरमा राख्ने नीतिले पीडितलाई चोट पुर्‍याउने कार्य नगर्न शरणार्थीहरुले आग्रह गरेका छन् ।

Category: , ,

NPNEWSKHABAR:
MORE NEWS PLEASE VISIT US AT www.npnews.info

0 comments